• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

कोशीमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

कोशी प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ ।

 

प्रदेशसभा नियमावली, २०७४ को नियम ३८ उपनियम (३) बमोजिम प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रमलाई आजको बैठकमा प्रदेश सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्नुभएपछि पारित भएको हो ।

 

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशको तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङले यही जेठ २१ गते प्रदेशसभामा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सो नीति तथा कार्यक्रममाथिको छलफलमा यही जेठ २२ गते १६ प्रदेशसभा सदस्य तथा जेठ २३ गते २५जना प्रदेशसभा सदस्यले भाग लिई आ–आफ्ना धारणासहित सुझाव र जिज्ञासा राख्नुभएको थियो ।

 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका विषयमा विगतका वर्षमा प्रदेश सरकारले लिएका राम्रा नीति र सफल अभ्यासलाई वर्तमान सरकारले पनि निरन्तरता दिएको बताउनुभयो । सरकारले सैद्धान्तिक आधारलाई आत्मसाथ गरी अघि बढ्न प्रयत्नशील रहेको उल्लेख गर्दै उहाँले दिगो विकास, फराकिलो एवं समावेशी आर्थिक वृद्धि र सामाजिक क्षेत्रको विकास नीति तथा कार्यक्रममा राखिएको बताउनुभयो ।

 

मुख्यमन्त्री कार्कीले सङ्घीयताको सबलीकरण र सुशासन प्रवर्द्धन, समन्यायिक एवं सन्तुलित विकास, आर्थिक विकासमा लगानीमैत्री वातावरण सिर्जना गर्नु प्रदेश सरकारको प्राथमिकता रहेको भन्दै योजनावद्ध विकासका लागि प्रभावकारी स्रोत परिचालन, बजेट प्रणालीको सुधार र आर्थिक अनुशासन, दिगो विकास र जलवायु परिवर्तनका निम्ति आवश्यक नीति सरकारले बनाउने उल्लेख गर्नुभयो । 

 

मुख्यमन्त्री कार्कीले कृषिको आधुनिकिकरण र व्यवसायीकरण, पर्यटन, वन तथा वातावरण संरक्षण, पूूर्वाधार र औद्योगिक विकास, निजी क्षेत्रको प्रवर्द्धन प्रदेश सरकारको प्रमुख प्राथमिकताको विषय भएको चर्चा गर्दै स्वास्थ्य सेवा तथा सामाजिक विकास, कानुनी शासन र विपद् व्यवस्थापन, रोजगारी प्रवर्द्धन तथा गरिबी निवारण, सार्वजनिक वित्तीय व्यवस्थापन र सार्वजनिक सेवा प्रवाह र सुशासनलगायत विषय प्राथमिकतामा परेका बताउनुभयो ।

 

मुख्यमन्त्री कार्कीले प्रदेशको प्रथम आवधिक योजनाको समीक्षा गर्दै ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्ने लक्ष्यका साथ दोस्रो आवधिक योजना तर्जुमा सम्पन्न गरी आगामी आर्थिक वर्षदेखि योजनावद्धरुपमा कार्यान्वयन गरिने बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा आएका सुझाव, धारणा र विचारलाई अनुसरण गरिने बताउनुभयो । 

 

मुख्यमन्त्री कार्कीले २०८२ साललाई पर्यटन वर्षको रुपमा मनाउने जानकारी दिँदै सीमित साधन र स्रोतको बाबजुद पनि प्रदेशका जनताका आवश्यकता र चाहना पूरा गर्न क्रियाशील रहेको बताउनुभयो ।

 

मुख्यमन्त्री कार्कीले प्रविधिमैत्री यातायात सेवा सञ्चालन गर्ने, सहुलियत कर्जा व्यवस्थापन गरी उद्यमशीलता र रोजगारी सिर्जना गर्न सरकारले अग्रगामी कदम चाल्ने उल्लेख गर्दै स्रोतको पहिचान र व्यवस्थापनमा गम्भीर हुने धारणा राख्नुभएको थियो ।

 

नीति तथा कार्यक्रममा कोशी प्रदेशसभा सदस्य गोम्बू शेर्पा, निर्मला लिम्बू र राजन किराँतीले राख्नुभएको संशोधन प्रस्तावका आवश्यक बुँदा मुख्यमन्त्री कार्कीले स्वीकार गरी बजेटमा समावेश गर्ने प्रतिवद्धता जनाउनुभएपछि उहाँहरुले संशोधनको प्रस्ताव फिर्ता लिनुभएको थियो । प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते अपरान्ह ३ बजे बस्नेछ ।

प्रतिकृया दिनुहोस

वर्षात्वसँगै सुदूरपश्चिममा बढ्दै डेङ्गु सङ्क्रमण

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दैगएको छ । वर्षात्वसँगै डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । प्रादेशिक स्वास्थ्य

लुम्बिनीमा विवादित दुई सांसदलाई मन्त्री बनाएकोमा बिरोध

काठमाण्डौ ।  लुम्बिनी प्रदेशमा विवादित पृष्ठभूमिका दुई सांसदलाई मन्त्री बनाएकोमा सर्वत्र बिरोध भइरहेको छ । एक महिलाको शंकास्पद मृत्यु र जग्गा

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका नेता बहादुर सिंह लामाद्वारा दाबी पेस

काठमाण्डौ। बागमती प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली काङ्ग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दाबी पेस गर्नुभएको छ।   मंगलबार एमाले र