• बुधबार १-५-२०८१/Wednesday 04-17-2024

समृद्धि अभियानमा ‘डेटा’को भूमिका

लेखक

कोरोना महामारीको संक्रमणले दिनानुदिन उल्लेख्य संख्यामा मानिसहरू मरिरहेका छन् । आधुनिक स्वास्थ्य विज्ञानलाई यस सरुवा रोगले चुनौति दिइरहेको छ । एउटा चेतनशील मानिसमा उक्त तथ्य÷सामग्री÷‘डेटा’ ले निश्चित रूपमा कौतुहलता, चिन्ता र चासो पैदा गरेकै हुनु पर्दछ । सर्वश्रेष्ठ प्राणीलाई मार्नसक्ने महामारी दिनानुदिन बढिरहेको छ, यसको रोकथाम, नियन्त्रण र उपचारमा संसार लागिरहेको छ,तर संभव भइरहेको छैन । 

 

कोरोना नियन्त्रणको प्रभावकारी भ्याक्सिन वा औषधी पत्ता नलाग्ने हो भने यो सुन्दर धर्तीको प्राणीले अझ ठूलो दुःख पाउनेछ । यस अर्थमा उक्त तथ्य वैज्ञानिक, औषधी उत्पादक, चिकित्सक, अनुसन्धाता, राष्ट्रका नीति निर्माता र समग्रमा विश्व समुदायका लागि निकै महत्वपूर्ण हुन्छ । झट्ट हेर्दा र सुन्दा यस आलेखको प्रथम अनुच्छेदको एउटा वाक्यको सूचना सामान्य लागे पनि त्यस ‘डेटा’ को बहुआयामिक महत्व हुन्छ भन्ने कुरा झल्काउन नै चर्चा गरिएको हो । वास्तवमा ‘डेटा’ इतिहासको मूल्याङ्कन, वर्तमानको आँकलन र भविष्यको अनुमान गर्ने महत्वपूर्ण माध्यम बनेकाले सम्बद्ध सबैका लागि यो बहुतै उपयोगी हुन्छ ।  

 

‘डेटा’ का बारेमा चर्चा गर्न माथि उल्लेखित वाक्य त एउटा दृष्टान्त मात्र हो । यस्ता ‘डेटा’ खरबौँ भनाँै वा गन्न नसकिनेमा हुन्छन् । मूल कुरा भनेको त्यसलाई ग्रहण गर्ने, विश्लेषण गर्ने र सदुपयोग गर्ने क्षमता र संवेदनशीलता अनि आवश्यकता अनुसार त्यसबाट जीवनलाई खुशी र सुखी बनाउन कसरी सकिन्छ त्यो महत्वपूर्ण पक्ष हो ।


 
वास्तवमा तथ्याङ्कशास्त्र ‘डेटा’ संकलन, विश्लेषण, प्रस्तुती र व्याख्या गर्ने एउटा विज्ञान हो । ‘डेटा’ परिमाणात्मक र गुणात्मक दुबै प्रकारका हुन्छन् । यो एउटा महत्वपूर्ण गणित हो जसले देशको समग्र आर्थिक विकासका लागि समेत ठूलो योगदान गरिरहेको हुन्छ । त्यही भएर यस शास्त्रको उपयोग गर्न आधुनिक राज्यले छुट्टै निकाय पनि स्थापना गर्ने गरेको छ । नेपालमा यसको नाम राष्ट्रिय योजना आयोग अन्तर्गत रहेको केन्द्रीय तथ्याङ्क विभाग हो । यस निकायले आवधिक रूपमा जनगणना गरेर तथ्याङ्क संकलन गरिरहेको छ भने बेला बेलामा विभिन्न सर्भेहरू गरेर सरकारलाई नीति निर्माणमा उपयोगी हुने ‘डेटा’ उपलब्ध गराइरहेको छ । विकासको आधुनिक सोच कार्यान्वनका लागि यो एउटा प्रभावकारी माध्यम हो । 

‘स्टाटिस्टिक्स’ शब्द नयाँ ल्याटिन ‘स्टाटिस्टिकम् कलिजियम्’ अर्थात् राज्यको परिषद् र इटालियन शब्द ‘स्टाटिस्टा’ अर्थात् राजनेता वा राजनीतिज्ञ भन्ने शब्दबाट आएको हो । तथ्याङ्क शास्त्रको विकास १८ औँ शताब्दीमा र खासगरी सार्वभौम राज्यहरूले औद्योगीकरणका निम्ति प्रयोग गर्न शुरु भएको हो । वेष्टफेलिया शान्ति सम्झौतापछि युरोपमा राज्यहरूको विकास हुन शुरु भएपछि तथ्याङ्क शास्त्रको तीब्र विकास भएको मानिन्छ । शुरुमा जनसंख्या लिनका लागि यस शास्त्रको प्रयोग गरिएको भए तापनि पछि राज्य सञ्चालनका सम्पूर्ण क्षेत्रमा यसको उपयोग गर्न थालियो । 

 

प्राचीन कालमा तथ्याङ्क शास्त्रलाई ‘राज्यनिर्माणको विज्ञान’ अथवा ‘राजाको विज्ञान’ को रूपमा लिइन्थ्यो । सरकारले कृषि, सैनिक र आर्थिक नीति निर्माणमा प्रयोग गर्दथ्यो । तर वर्तमान कालमा यसलाई विज्ञान, मानवशास्त्र, समाजशास्त्र, अर्थशास्त्र, पत्रकारिता, राजनीतिक विज्ञान र अन्य क्षेत्रमा पनि अंगिकार गर्न थालिएको छ । भनिन्छ इजिप्टमा लोकप्रिय पिरामिड बनाउन राजाहरूले जनसंख्या र सम्पत्तिको गणना गरेका थिए । यस क्षेत्रको चर्चा गर्ने हो भने आजभन्दा दुई हजार वर्ष पहिले नै चन्द्र गुप्त मौर्यको शासनकालमा तथ्य संकलन गरिएको प्रमाण कौटिल्यको अर्थशास्त्रमा पनि पाइन्छ । नेपालमा लिच्छिवी कालमा काठमाडौँमा गुठी सञ्चालन गर्नका लागि ‘डेटा’ संकलन गरिएको इतिहासले पुष्टि गरेको विषय हो । यहाँ औपचारिक जनगणना भने १९ औँ शताब्दीबाट मात्र शुरु भएको हो । 

 

तथ्य एवं सूचनाको महत्वलाई बुझेर नै सन् १९४७ मा संयुक्त राष्ट्रसंघले ‘स्टाटिस्टिकल कमिशन’ स्थापना गरेको हो । यसले विश्वव्यापी तथ्याङ्कीय प्रणालीलाई एकरूपतासहित व्यवस्थित गर्न र यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । राष्ट्रसंघले जनसंख्या, ऊर्जा, वातावरण, उद्योग, अन्तर्राष्ट्रिय वाणिज्य तथा व्यापार, सामाजिक तथा घरेलु तथ्याङ्कलाई व्यवस्थित तुल्याइरहेको छ । 

 

सन् २०१५ अक्टोबर २० मा संयुक्त राष्ट्रसंघको ६९ औँ नियमित सभाले ‘असल डेटा असल जीवन’ भन्ने संकल्प पारित गरेको थियो ।  हालै राष्ट्रसंघले ‘ग्लोबल पल्स’ अभियान शुरु गरेर ‘डेटा’ विज्ञानको विकासका लागि महत्वपूर्ण काम गरेको छ । यस अभियानबाट प्राप्त भएको ‘व्यापक डेटा’ ले दिगो विकास, मानवीय कार्यका लागि राष्ट्रसंघ र यसका सदस्य राष्ट्रहरूलाई महत्वपूर्ण लाभ पु¥याउने विश्वास गरिएको छ । 

 

देशलाई चाहिने आधारभूत तहको ‘डेटा’ भनेको समग्र घरेलु उत्पादन तथा राष्ट्रिय आय, पूँजी निर्माण, बाह्य कारोबार, उपभोग, सरकारी तथा नीजि लगानी, आयात निर्यात, औद्योगिक उत्पादन, ऊर्जा तथा शक्ति उत्पादन तथा उपभोग, जलवायु परिवर्तन र यसको असर तथा अनुकुलन, कृषि तथा कच्चा पदार्थ उत्पादन, यातायात तथा सूचनाको संकेतक, सरकारी सेवाहरू, आवास तथा वित्त प्रणाली, ब्याज दर तथा विनिमय दर, स्वास्थ्य संकेतक, जनसंख्याको चरित्र, बैंकिङ्गजस्ता क्षेत्रहरू हुन् । यसैगरी सरसफाई तथा सफा पानी वितरणका संकेतक, खाद्य सुरक्षाको अवस्था, सार्वजनिक वितरण प्रणालीको प्रभावकारिता, संस्कृति तथा आप्रवासन, शान्ति सुव्यवस्था जस्ता विषयहरू पनि महत्वपूर्ण नै छन् ।  

 

नेपालमा प्रत्येक दश वर्षमा हुने आगामी राष्ट्रिय जनगणना ‘मेरो गणना मेरो सहभागिता’ भन्ने आदर्श वाक्यलाई आत्मसात गर्दै २०७८ सालमा हुनगइरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान जारी भएको र सामाजिक न्याय तथा समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा अगाडि बढ्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने नेपाल सरकारको संकल्पलाई यस जनगणनाले महत्वपूर्ण योगदान पु¥याउनु पर्दछ । सबल जनशक्तिका साथ स्वतन्त्र, निष्पक्ष र पारदर्शी जनगणनाले विभिन्न क्षेत्रमा बनाउनु पर्ने नीतिहरूका लागि यसलेप्रभावकारी भूमिका निर्वाह गर्नु पर्दछ । बेला बेलामा केन्द्रीय तथ्याङ्क विभागले नेपाल जीवनस्तर सर्भे गर्ने र त्यसबाट जनताको जीवनस्तर के कस्तो छ र आवश्यक पर्ने नीति तथा कार्यक्रम राज्यले तर्जूमा गर्ने परिपाटि पनि छ । यसैगरी अन्य सरकारी, निजी, सार्वजनिक, सहकारी र सामुदायिक क्षेत्रहरूले पनि ‘डेटा’ संकलन गरिरहेका छन् । तर यी सामग्रीहरूको प्रभावकारी उपयोग भने हुन सकिरहेको छैन । 

सूचना प्रविधिमा भएको अभूतपूर्व विकासले ‘डेटा’ संकलन र विश्लेषणका क्षेत्रमा क्रान्ति नै भएको छ । साँच्चै भन्ने हो भने सदुपयोग गर्न सक्दा सानै उपकरण जस्तो कि मोबाइल बाट नै अर्थात् मुट्ठीबाट नै सूचना लिने, दिने र त्यसको उपयोग हरेक पल गर्न सक्ने अवस्था सिर्जना भएको छ । प्रकृति विज्ञानसहित राजनीतिक, सामाजिक, आर्थिक तथा साँस्कृतिक क्षेत्रका ‘डेटा’ ठूलो मात्रामा संकलन गर्न सूचना प्रविधिका कारणले अवसरसहित सजिलो पनि भएको छ । त्यसो त सूचना संकलन गर्ने नाममा व्यक्तिगत सूचना समेत बाहिरिने संभावना पनि बढेर गएको छ । यसबाट व्यक्तिको सूचनाको हकसम्बन्धी मानव अधिकार हनन पनि हुनसक्छ । यस विषयमा भने नियामक निकायको ध्यान पुग्नु पर्दछ । 

 

विज्ञानको विकासबाट यातायात तथा सूचना प्रविधिमा भएको अभूतपूर्व प्रगतिले हचुवाको भरमा सामाजिक आर्थिक समृद्धिको खाका कोर्ने परिवेशलाई लगभग समाप्त पार्दै लगेको छ । वर्तमान विश्वमा मानिसको चलायमान अवस्था कति दू्रततर रहेछ भन्ने कुरा अत्यन्त छोटो अवधिमै कोरोनाको महामारी विश्वभर सघनरूपमा फैलिएको घटनाबाट पनि प्रष्ट हुन्छ । जल, थल र आकाश मार्गमा आधुनिक सवारी साधनको प्रयोग भएकाले नै मानिस एक ठाउँबाट अर्को ठाउँमा आवत जावत गर्न संभव भएको हो । यसबाट यो कुरा सुस्पष्ट हुन्छ कि मानिसबाट दुर्गम क्षेत्रमा समेत सूचना संकलनलाई सहज तुल्याउने अनेकाँै आधुनिक साधन र उपकरण प्रभाकारी भएका छन् र आर्थिक विकासका निम्ति व्यवस्थित योजना तर्जूमा गर्न आवश्यक पर्ने अनेकौँ प्रकारका सूचना, तथ्य र तथ्याङ्क प्राप्त गर्न ती उपयोगी साबित भइरहेका छन् । 

 

अब नेपालका सबै तहका सरकारहरूले भरपर्दो तथ्याङ्क प्राप्त गर्ने उपयुक्त संयन्त्रको विकास गर्नु पर्दछ, जसले गर्दा प्रमाणमा आधारित नीति निर्माणमा योगदान पुगोस् र विकासको गतिलाई तीब्र एवं दिगो पार्न सकियोस् । अब राष्ट्रिय तथ्याङ्क प्रणालीलाई सुदृढ नतुल्याउने हो भने अर्थपूर्ण राष्ट्रिय विकासमा निर्णायक भूमिका निर्वाह हुन सक्दैन । मुलुकमा पूर्ण रोजगारी प्राप्त गर्न, मूल्य स्थिरता कायम गर्न, आर्थिक बृद्धि हासिल गर्न, भुक्तानी सन्तुलन कायम गर्न, आयको समन्यायिक वितरण गर्न, शैक्षिक विकास गर्न, सामाजिक सुरक्षालाई बढावा दिन, राजनीतिक स्थायित्व हासिल गर्न तथ्याङ्कको महत्वपूर्ण र निर्णायक भूमिका हुन्छ । रणनीतिक योजना निर्माण, कार्यान्वयन गर्ने संयन्त्र र अनुगमन गर्ने निकायका लागि समेत तथ्याङ्क व्यवस्थित हुुनु पर्दछ ।यसो गर्न सक्दा नै समृद्धि यात्राले फड्को मार्न सक्नेछ ।

(चक्रपथ डटकमबाट साभार)

प्रतिकृया दिनुहोस

‘परमादेश’को आडमा लोकतन्त्रको चीरहरण, शीतको आयु-घाम नउदाउञ्जेलसम्म

राजनीतिक दल विचार, सिद्धान्त, मूल्यमान्यताका आधारमा सङ्गठित हुन्छन् । राजनीतिक दलसँग राज्य सञ्चालनका बारेमा नीति, दृष्टिकोण, विचार र योजना हुन्छ ।

बामदेवको नयाँ अवतारको रुपमा माधव नेपाल

  नेकपा एमालेभित्र देखिएको आन्तरिक अन्तरविरोधलाई दीर्घकालीनरुपमै समाधान गर्ने हेतुले अस्ति (२३ जेठ २०७८) मा पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा

ईश्वरका बारेमा के भन्थे बुद्ध?

अनन्त विशाल अस्तित्वलाई इंगित गर्न भव, सृष्टि, ब्रह्माण्ड, संसार, जगत लगायत अनेक शब्द छन्। समानअर्थी शब्द भए पनि यी सुक्ष्म रूपमा फरक छन्। जस्तो भवले