• बुधबार १-५-२०८१/Wednesday 04-17-2024

‘परमादेश’को आडमा लोकतन्त्रको चीरहरण, शीतको आयु-घाम नउदाउञ्जेलसम्म

राजनीतिक दल विचार, सिद्धान्त, मूल्यमान्यताका आधारमा सङ्गठित हुन्छन् । राजनीतिक दलसँग राज्य सञ्चालनका बारेमा नीति, दृष्टिकोण, विचार र योजना हुन्छ । योजना दीर्घकालीन, मध्यम कालीन र तत्कालीन हुन्छ । योजनामा दूर दृष्टि, ध्येय र लक्ष्य हुन्छ । दूर दृष्टिको विषय तत्काल वा दुई—चार वर्ष वा एक दुई कार्यकालमा नै प्राप्त भइहाल्दैनन् । हाम्रो जस्तो भू बनोट, आर्थिक अवस्था रहेको देशमा पूर्व—पश्चिम, उत्तर—दक्षिण रेल सञ्चालन, हाम्रा नदीहरूमा ठुलठुला पानीजहाज सञ्चालन गरी जल यातायात सञ्चालन, ठुला सुरुङ मार्ग, पाइप लाइनबाट भान्सा भान्सामा खाना पकाउने ग्यासको उपलब्धता, सहज यात्राका लागि केबुलकार सञ्चालन आदि विषयहरू दीर्घ र मध्यम कालीन योजनाहरू हुन सक्दछन् ।
 
तुइन विस्थापन, झोलुङ्गे पुल निर्माण, देशको प्रत्येक जिल्लाको सदर मुकामसम्म सडक सञ्जाल पुर्‍याउने, पालिका स्तरमा शल्यक्रिया सुविधासहितको अस्पताल विस्तार, मातृ तथा बाल मृत्युदर उल्लेखनीय रूपमा घटाउने, विद्यालय जाने उमेरका तर, आर्थिक विपन्नता एवं भौतिक दूरीका कारण विद्यालय जान नसकेका सबैलाई विद्यालय जाने व्यवस्था गर्ने, कृषिका लागि सिँचाइ, मल, बीउ व्यवस्थापन तथा उत्पादित कृषि उपजको उचित मूल्य र बजारको सुनिश्चितता गरी उत्पादन वृद्धिसँगै रोजगार प्रवर्द्धन गर्ने जस्ता विषय मध्यम र अल्पकालीन विषय हुन सक्दछन् । यिनीहरूमध्ये धेरै विषय पाँच वर्षभित्रै परिणाम प्राप्त गर्न सकिने हुन्छ । 

 

हाम्रा हरेक गाउँमा धार्मिक मठ—मन्दिर छन्, क्षेत्र हेरी गुम्बा र मस्जिद छन् । यस्ता स्थानहरूमा स्थानीय, प्रादेशिक र सङ्घीय स्रोतबाट आर्थिक लगानी भइरहेको छ । यस्ता स्थलहरूलाई सामाजिक सद्भाव, सांस्कृतिक जागरण, सरसफाइ, योगाभ्यास तथा योग प्रशिक्षण स्थलका रूपमा विकास गर्न सकिन्छ । मानिसहरूलाई नैतिक—चारित्रिक उपदेश तथा स्वच्छ—मनोविज्ञान विकास गर्ने स्थलका रूपमा स्थापित गर्न सकिन्छ । त्यस्ता ठाउँहरूमा आजापूजाका लागि आवश्यक पर्ने सामग्रीहरू उत्पादन गर्ने अवस्था निर्माण गर्न सकिन्छ र स्थानीय उत्पादनसँगै आन्तरिक पर्यटन विकास गर्न तथा रोजगारी समेत सिर्जना गर्न सकिन्छ । 

 

हाम्रो देशका अनेकौँ स्थानमा पुरातात्त्विक महत्त्वका अत्यन्तै महत्त्वपूर्ण, अन्यत्र कतै नपाइने प्राचीन सम्पदा स्थल, सम्पदा सामग्री—वस्तुहरू छन् । प्रागैतिहासिक अर्थात् वैदिक तथा पुराणकालीन स्थान र तिनीहरूसँग जोडिएका मूर्त तथा अमूर्त सम्पदा छन् । तिनीहरूको संरक्षण गरेर आन्तरिक एवं बाह्य पर्यटकहरू आकर्षित गर्न सकिन्छ । यसबाट पनि उत्पादन, खपत र रोजगारी सिर्जना गर्न सकिन्छ । यस्ता विषय तत्कालै सुरु गर्न र सकिन्छ । 

 

यी सबै कामप्रति जनताको विश्वास जित्न आवश्यक हुन्छ । जनताले यी कार्यहरू आफ्नो समृद्धि र सुख सन्तोषका लागि हुन्, आफू लाभान्वित भइन्छ भन्ने मनोभावसँग जोड्न सकिन्छ । राज्य भनेको हाम्रो संरक्षक हो, पहिचान हो, गौरव हो, यसप्रति हाम्रो पनि दायित्व छ भन्नेमा विश्वस्त पार्न सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिकहरूका लागि विशेष कार्यक्रम, बालबालिकाहरूका लागि विशेष कार्यक्रम, महिला हिंसा विरुद्ध कडा कारबाही, अपाङ्गता भएकाहरूलाई विशेष संरक्षण, सुविधा र सहज जीवन यापनको काम, यौनिक अल्पसङ्ख्यकहरूको सम्मान र स्वीकार्यताका लागि विशेष योजना र काम जस्ता विषयहरू विश्वसनीयताका लागि आवश्यक छन् र तत्काल कार्यान्वयनमा ल्याउन सकिने छन् । लक्ष्य प्राप्तिको रणनीतिक बाटो यी विषयलाई बनाउन सकिन्छ । 

 

यी कामहरू यसरी गर्दा पाँच वर्षमा प्रत्येक जनतासँग महसुस गर्ने उपलब्धि पुग्छ । भने जति, बोले जति, घोषणापत्रमा लेखे जति सबै आजको भोलि नै उपलब्ध गराउन सकिँदैन । तर, दिन दिनको व्यवहार र उपलब्धिको बलमा अहिले भरपत्यार नलाग्ने विषय पनि क्रमशः कार्यान्वयन हुँदै जानेछन् र जनताले राज्य र आफैमाथि विश्वास गर्नेछन् । यस्तो विश्वासले नै असम्भवजस्तो देखिने विषयलाई पनि सम्भव बनाउँछ । यस्ता विषयमा प्रतिस्पर्धा गर्नुपर्ने होइन ? यसैले राजनीतिक दल चुनावदेखि चुनावसम्म मात्र हुँदैनन् । सत्तोसराप र वितृष्णा राजनीतिक विषय होइन । 

 

कुनै पनि प्रतिस्पर्धा जित्नका लागि हुन्छ । तर, सुनिश्चित के हो भने प्रतिस्पर्धाका सबै सहभागीले जित्दैनन् । हरेक प्रतिस्पर्धाका नियम हुन्छन् । राजनीतिमा सबैभन्दा ठुलो प्रतिस्पर्धा भनेको चुनाव नै हो । चुनावी प्रतिस्पर्धामा मतदाता निर्णायक हुन्छन् । उम्मेदवारहरू व्यक्तिगत र दलगत दुवै थरी हुन्छन्, मूलतः व्यक्तिगत प्रतिस्पर्धाको क्षेत्र जहाँ पनि हुन सक्दछ, तर लोकतन्त्रमा हुने राजनीतिक प्रतिस्पर्धा दलहरूको बिचमा हुन्छ, उम्मेदवार (व्यक्ति) त प्रतिनिधि—वारेस मात्र हुन्छ । 

 

पार्टी रोज्न पाइन्छ, नेता बन्न पाइन्छ, नेता—सेवक वा वारेस रोज्न पाइन्छ, तर यसरी रोज्न पाइने सिङ्गो लोकतान्त्रिक व्यवस्था र पद्धतिका विरुद्ध बोल्नु, गतिविधि गर्नु, मपाईँ बन्नु जस्ता विषय लोकतन्त्रका लागि घातक विषय त हुँदै हुन्, यसका लागि योगदान गरेका, नेतृत्व गरेका र सर्वस्व गुमाएकाहरू प्रतिको अपमान हो । 

 

लोकतन्त्र राजनीति हो, राजनीतिक दलहरूका लागि मात्र होइन । लोकतन्त्र भनेको सम्पूर्ण जनताका लागि हो, खास गरी नागरिक अधिकार र कर्तव्यका लागि हो । लोकतन्त्र असङ्गठित हुलको बलमा प्राप्त हुँदैन, भएको पनि होइन । लोकतन्त्र सङ्गठित राजनीतिक शक्तिहरूको सङ्गठित प्रयास र नेतृत्वमा प्राप्त भएको हो । यसमा राजनीतिक पार्टीहरू, नेताहरू, लोकतन्त्र पक्षधर जनताको ठुलो लगानी रहेको छ । लोकतन्त्र प्राप्तिमा भएका लगानी ठुलो छ । यसमा धेरै मानिसहरूले आफ्नो सुन्दर जीवन र ज्यान समर्पण गरेका छन् । लोकतन्त्र प्राप्तिका लागि धेरैले ज्यान गुमाउनु परेको हो, धेरैले घरजम गरी परिवार बसाउन नपाएको हो, धेरैले जेलका काल कोठरीमा लामो समय बिताएको हो, धेरैले नेल र हतकडीको बन्धन र भारी बोक्नु परेको हो, धेरैको अङ्गभङ्ग भएको हो, धेरैको काख रित्तिएको हो । धेरैका टिका सिन्दूर पुछिएको हो, पोते चुँडेको हो, धेरै अत्तोपत्तो नहुने गरी बेपत्ता भएको हो । 

 

पछिल्लो कालमा (वि.स.२०५२—०६३) होनहार नेपाली सन्तानको मृत्यु, जीवितहरूले पाएको यातना, विदेशीहरूसँग बिन्ती गरेर प्राप्त भएका अनुदान तथा गर्भमै रहेका हरेक नेपालीको टाउकोमा समेत ऋणको ठुलो भारी बोकाएको रकमबाट बनेका भौतिक पूर्वाधारका संरचनाहरू ध्वस्त भएको हो । प्राचीन सांस्कृतिक सम्पदा, संस्कृति समेत सिकार भएको हो । यी र यस्ता अनेकौँ कहाली लाग्दा घटना, दुर्घटना, हत्या, हिंसा आदि समेत लोकतन्त्रका लागि भनेर भएकै हो । परिवर्तन वा रूपान्तरणका आन्दोलन तथा क्रान्तिमा हुने क्षति स्वाभाविकै हो, तर नेता र नेतृत्वका कारणले भएका अतिरिक्त क्षतिको हिसाब कोसँग माग्ने हो ? यसको हिसाब किताब पनि यही लोकतन्त्रको खातामा लेखिएको छ ।

 

यी सबै कारणले यो लोकतन्त्र सस्तो  छैन, यो कसैको मात्र पेवा होइन । यो लोकतन्त्र आन्दोलनमा लागेका मानिसहरूका लागि मात्र होइन, यसका लागि क्षति बेहोर्न परेकाहरूका लागि पनि हो । किन भने लोकतन्त्र आग्रह, पूर्वाग्रह, बदला, प्रतिशोधको विषय होइन, खालि आन्दोलनका विजयीहरूले लोकतन्त्रको नेतृत्व गर्ने हो र यसको पराजित पक्षले पनि लोकतन्त्र उपयोग गर्न पाउने सुनिश्चितता हो । हार्नेले हारसँगै आफ्नो सजाय पाइसके तर विजयीहरूमाथि ठुलो दायित्वको भारी छ र यो थपिँदै जाने हो । 

 

यस्तो हुनु पछिका कारणहरू के हुन् ? किन लोकतन्त्रप्रति नै मानिसहरूको वितृष्णा बढेको हो ? कसका कारणले, के कारणले मानिसहरू आफैले ल्याएको, आफ्ना लागि ल्याएको लोकतन्त्रका विरुद्ध जुर्मुराउँदैछन् ? यसको लेखाजोखा पनि हुनै पर्दछ । तर, यति बढी जनधन, जीवन र ज्यानको बलिदानबाट प्राप्त व्यवस्था र पद्धतिलाई चुनौती दिने अधिकार कसैलाई छैन । व्यक्ति फेर्न सकिन्छ, व्यवस्था सञ्चालन गर्ने विधिहरूमा, सम्बोधन हुन बाँकी रहेका विषयहरूमा सुधार गर्न सकिन्छ, संविधान संशोधन गर्न सकिन्छ, नयाँ ऐन कानुन बनाउन सकिन्छ । यसका लागि पार्टीभित्र, अन्तर पार्टी, सामाजिक आन्दोलन, अभियान र बहस चलाउन सकिन्छ र सक्नुपर्छ । लोकतन्त्रका जगमा लोक—जनता र समाजले पाउनै पर्ने विषय लिन अग्रसर हुन सकिन्छ, तर यसको जगलाई भत्काउन पाइँदैन । 

 

बहुदलीय लोकतन्त्रका आधार शक्ति लोक नै हुन् । यसका सञ्चालक शक्ति राजनीतिक दल हुन् । राजनीतिक दलहरू जति व्यवस्थित, दूरदर्शी, पारदर्शी, दायित्वशील, सक्षम हुन्छन्, लोकतन्त्र त्यति नै बलियो हुन्छ । उनीहरूले आफ्ना नेता—कार्यकर्ताहरूलाई लोकतन्त्रमा भएको लगानी, यसको महत्त्वका साथै यसका वास्तविक मालिक जनता हुन्, जनताभन्दा माथि कोही छैनन् भन्ने शिक्षा चेतना दिनुपर्ने हो । तर, आफूmले भनेजस्तो नहुँदा पार्टी फेर्ने, फोर्ने, पार्टी छोड्ने काम किन भइरहेको छ ? कहाँ र किन चुकेका छन् पार्टीका नेतृत्वहरू ? निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । यसमा सहभागी हुनु पर्वमा सहभागी हुनु हो । 

 

यस्ता सबै कुराहरू बिर्सेर या बिर्सेझैँ गरेर केही मानिसहरूले नीति, सिद्धान्त, विचार, योजना सबैलाई पाखातिर थन्क्याएर गठबन्धन गरेका छन् । साना साना चोइटामा भागबण्डा मिलाएका छन् । एउटा सबल र सक्षमलाई किनारा लगाउन अनेकौँ तिगडम गरिरहेका छन् । जसले आफ्नो विचार, सिद्धान्त, दृष्टिकोण र योजनामाथि नै विश्वास गर्न सक्दैन—सकेका छैनन्, तिनले के राजनीति गर्लान् ? कस्तो राजनीति गर्लान् ? 

 

हामी देखिरहेका छौँ, परमादेश’को सुगा रटाइ सिद्धान्तले मुलुकको हित गर्न सक्दैन । राजनीतिक स्थिरता दिन सक्दैन । जनताको सार्वभौमिकताको सम्मान गर्न सक्दैन । विगतमा देशका दुई ठुला दल एमाले र माओवादीले आपसमा गठबन्धन गरेर, एउटै घोषणापत्र बाँडेर चुनावी प्रतिस्पर्धा गरेका थिए । तर, निर्वाचनको परिणाम आउँदा नआउँदै किचलो सुरु भएको थियो, फलतः प्रतिनिधि सभा गठन हुन—शपथ ग्रहण गर्न ढिलाइ भएको थियो । सरकार गठन गर्दा पनि पूर्ण आकारको सरकार गठन हुन सकेको थिएन, प्रधानमन्त्रीसहित एमालेका केही मन्त्रीको मात्र शपथ ग्रहण भएको थियो । एउटै घोषणापत्रबाट चुनाव लडेका र पछि एउटै पार्टी बन्ने सहमति गरेका राजनीतिक पार्टीहरूको बिचमा भएको गठबन्धन एक पटक सबैले सम्झना गर्दा गठबन्धन राजनीतिको तस्बिर छर्लङ्ग हुन्छ । त्यसपछिका कुरा कसले बिर्सिएको छ र ? जनमत र जनमतद्वारा बनेका प्रधानमन्त्रीको जनसमक्ष जाने गरी गरिएको संसद् विघटनलाई प्रतिगमन ठान्नेहरूले संसद्बाट बन्ने सरकार सर्वोच्च अदालतबाट समय र व्यक्ति समेत तोकेर गरिएको आदेश (परमादेश)लाई अग्रगमन भनिरहेका छन् । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीशको बयानबाट त्यसको परमादेशी अग्रगमनको राग सबैका कानमा गुन्जिइरहेको छ ।

 

कसैसँग उठेको रिस, त्यसबाट उत्पन्न आवेग, बदलाको भावनाबाट प्रेरित भएर कतै लाग्ने हो भने कुरा भिन्नै हो । त्यसलाई राजनीति मान्न मिल्दैन, त्यो राजनीति होइन । नत्र, राजनीतिक स्थिरता र स्थायित्वका लागि राजनीतिक गठबन्धन विकल्प हुन सक्दैन । त्यहाँ आआफ्ना राजनीतिक स्वार्थ बाझिन्छ । भागबण्डा नमिलेपछि उत्पन्न हुने खिचलोले सरकार बन्न, सरकार चल्न र पाँच वर्ष पूरा गर्न सम्भव हुँदैन । गठबन्धनको स्वरूप हेर्दा त्यहाँभित्रको कसैले बहुमत ल्याउने देखिँदैन । स्थिर सरकारको अभावमा देश विकास सम्भव छैन । परराष्ट्र मामिलामा सन्तुलन पनि सम्भव छैन । अस्थिर सरकारले भ्रष्टाचार, ढिलासुस्ती रोक्ने विषय हवाई कल्पना बाहेक केही हुन सक्दैन । सत्तामा रहेका राजनीतिक गठबन्धनका दलले एमाले अध्यक्ष ओली नेतृत्वमा पनि गठबन्धन भएको दाबी र प्रचार गरिरहेका छन् । तर, वास्तवमा नेकपा एमालेले भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष ओलीलाई अघि सारेको छ र बहुमत सिट सङ्ख्या एमालेमा रहने र सरकारको नेतृत्व केपी ओलीले नै गर्ने सहमतिसाथ केही स्थानमा सीमित तालमेलसहित सहकार्य र समन्वय गर्ने गरी अघि बढेको स्पष्ट देखिन्छ । 

 

एमालेले तालमेल गरेका राजनीतिक शक्तिमाथि राजावादी, अलगाववादी, मधेसवादी, अवसरवादी आदि आरोप लगाइरहेको पनि छ । तर, यी कुनै पनि शक्ति वर्तमान व्यवस्था, संविधानका विरुद्ध रहेका छैनन् । राप्रपा, राप्रपा नेपाल, जसपा नेपाल, जनमत पार्टी, जनता प्रगतिशील पार्टी र नेताहरूमाथि आरोप लगाउँदै आएका छन् । सहकार्यमा नरहेका, अन्यत्र सहकार्य र तालमेल गरिरहेकाहरूप्रति नकारात्मक हुनु राम्रो होइन । असहमति, आलोचना र विरोध हुन्छ, तर आरोप र निन्दा हुनुहुँदैन । गठबन्धन दलका नेता तथा कार्यकर्ताहरूको व्यवहार देख्दा यस्तो लाग्छ— शीतको आयु—घाम उदाउञ्जेल । गठबन्धन शीतका थोपा मङ्सिर ४ गते उदाउने घामसम्म त होला नि ! 

श्रोत:  chakrapath.com 

 

प्रतिकृया दिनुहोस

बामदेवको नयाँ अवतारको रुपमा माधव नेपाल

  नेकपा एमालेभित्र देखिएको आन्तरिक अन्तरविरोधलाई दीर्घकालीनरुपमै समाधान गर्ने हेतुले अस्ति (२३ जेठ २०७८) मा पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा

ईश्वरका बारेमा के भन्थे बुद्ध?

अनन्त विशाल अस्तित्वलाई इंगित गर्न भव, सृष्टि, ब्रह्माण्ड, संसार, जगत लगायत अनेक शब्द छन्। समानअर्थी शब्द भए पनि यी सुक्ष्म रूपमा फरक छन्। जस्तो भवले

कोरोना कहर : हुँदा खाने र हुनेखानेबीचको खाडल गहिरिँदै

काठमाडौं । कोभिड–१९ को महामारीमा हुँदा खाने र हुनेखानेबीचको खाडल चुलिँदै गएको छ । निम्न वर्गले धेरै अभाव झेल्नु परेको छ भने हुनेखाने वर्गले